परिवर्तनको भ्रम: बालेन साह नेतृत्वमा स्थानीय शासनको यथार्थ

राजकुमार लामा
आशाको छायाँमा यथार्थको उजागर,बालेन साह काठमाडौं महानगरको नेतृत्वमा आउँदा धेरैले उनलाई ‘सिस्टमको विकल्प’ र परिवर्तनको प्रतीकका रूपमा हेरिरहेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा निर्बाचन जितेर उनले आम मान्यतामाथि प्रश्न उठाए। तर, तीन वर्ष बितिसक्दा पनि परिवर्तनको सपना यथार्थमा कति अवतरण भयो भन्ने सवाल गम्भीर रूपमा उठ्न थालेको छ।

पारदर्शिता र जवाफदेहिताको क्षरण,लोकतान्त्रिक शासनको मूल आधार पारदर्शिता र जवाफदेहिता हो। तर, बालेनको कार्यशैलीमा यस आधारभूत मूल्य कमजोर देखिएको छ। सामाजिक सञ्जालमार्फत नीति घोषणा, कार्यपालिका बैठकको अनियमितता, जनसंवादको अभाव र विज्ञहरूको सहभागिताविना नीति निर्माणजस्ता अभ्यासहरूले संस्थागत शासन प्रणालीमाथि प्रहार गरेका छन्।

यस्ता कार्यशैलीले शासन प्रणालीलाई व्यक्तिनिर्भर बनाउँदै, लोकतन्त्रको दीर्घकालीन जग नै कमजोर पार्ने खतरा बढाउछ।

भ्रमण, सचिवालय र प्रशासनिक विखण्डन असफलताको यात्रा,बालेनको कार्यकालमा भएका विदेशी भ्रमणहरू (युरोप, उत्तर अमेरिका ब्राजील) लगायत भ्रमणमा उल्लेखनीय परिणाम विहीन देखिन्छन्। सहकार्यको आशा, प्रविधिको आदान–प्रदान वा संस्थागत लाभको सट्टा, ती भ्रमणहरू ‘विदेश यात्रामा’ सीमित बने।

आर्थिक अनुशासनको विफलता,महालेखापरीक्षकको प्रतिवेदनले काठमाडौं महानगरमा करोडौं रुपैयाँ बराबरको बेरुजु देखाएको छ। यसले आर्थिक अनुशासनमा गम्भीर कमजोरी मात्र होइन, व्यवस्थागत त्रुटिको पनि संकेत गर्छ।

महानगरका ठूला करदाता व्यवसायीहरूबाट कर असुलीमा देखिएको उदासिनता र ढिलासुस्तीले के संकेत गर्छ? के महानगरले नियोजित रूपमा केही स्वार्थ समूहहरूलाई जोगाइरहेको छ? यदि कर संकलनमा इच्छाशक्ति देखाइएमा, स्थानीय ऐन र नियमहरू पर्याप्त छन् तर प्रशासनिक दृढता हराइरहेको छ।

बजेट करिब २५ अर्ब हाराहारी भए पनि त्यो मर्मत–सम्भार र सतही विकासमै सीमित भएको देखिन्छ। इन्जिनियरको भाषामा ‘स्ट्रक्चरल इनोभेसन’ होइन, पेन्ट र टायलको लिपापोती मात्रै बढी देखिएको छ।

सार्वजनिक सम्पत्ति र शहरी विकृति,बालेनले सार्वजनिक सम्पत्ति संरक्षण, हरित क्षेत्र विस्तार र नियोजित शहरीकरणलाई एजेन्डा बनाए पनि कार्यान्वयनमा निराशाजनक प्रदर्शन देखिएको छ।

न त ऐतिहासिक सम्पदाको संरक्षणमा चासो दिइयो, न त वातावरणमैत्री विकासमा। साँघुरा सडक, अव्यवस्थित पार्किङ, ट्राफिक जामजस्ता समस्याले दैनिक जीवन प्रभावित बनाएको छ। यी बालेनकै मुख्य चुनावी एजेन्डा थिए, जसको अब मूल्यांकन आवश्यक छ।

शिक्षा र सामाजिक उत्तरदायित्व,सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा आवश्यक ध्यान दिइएको छैन। बजेट विनियोजन, शिक्षक प्रशिक्षण, वा डिजिटल पहुँच जस्ता क्षेत्रमा सुधारको स्पष्ट खाका नदेखिएकोले दीर्घकालीन रूपमा मानव संसाधन विकासमा असर पुर्‍याउँछ।

त्यस्तै, जेष्ठ नागरिकमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य पहुँच र सामाजिक सुरक्षा योजनामा पनि नेतृत्वको रुचि न्यून देखिएको छ। सामाजिक न्यायको सवालमा महानगर मौन देखिनु विडम्बनापूर्ण छ।

लोकतान्त्रिक भरोसामा आँच,जनताले बालेन साहमा जसरी विश्वास गरेका थिए, त्यो विश्वास अहिले प्रश्नमा परेको छ। पारदर्शिता, जवाफदेहिता, नीति कार्यान्वयन र सामाजिक सेवा सुधारमा देखिएको कमजोरीले स्वतन्त्र जनप्रतिनिधिप्रतिको भरोसा कमजोर पार्ने जोखिम छ।

व्यक्तिवाद सोच होइन, सामुहिक संस्थावाद सोच हुनु पर्छ | परिवर्तन केवल अनुहार बदलिँदा हुँदैन संरचना, प्रणाली, नीति प्रक्रिया र नागरिक सहभागिता सुदृढ हुँदैन भने नयाँ अनुहार पनि पुरानै शैलीको निरन्तरता बन्न सक्छ।

अब बालेन संग विकल्प छ जनताले देखाएको भरोसालाई पुनः स्थापित गर्ने कि परिवर्तनको भ्रममा इतिहासमा ओझेल परिने। बालेन साहको नेतृत्वमा काठमाडौं महानगरले प्रणाली सुधारको नयाँ ढोका खोल्न सक्थ्यो तर त्यसको साँचो अझै पनि प्रशासनिक इच्छाशक्ति, पारदर्शिता र समावेशी निर्णय प्रक्रियाको हातमा छ।