राजकुमार लामा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीको १५औँ महाधिवेशन तोकिएको समयमा नै हुने स्पष्ट संकेत दिए। देउवाको यो अभिव्यक्तिले महाधिवेशनको औपचारिक तयारी सुरु भएको देखिए पनि कांग्रेसको संस्थापन समूह भित्र नेतृत्व चयनको विषयमा अझैसम्म गहिरो अन्योल छ।
नेपाली कांग्रेसको संस्थापन पक्ष, विशेषगरी शेरबहादुर देउवा नेतृत्वको समुह हाल सांगठनिक, रणनीतिक र वैचारिक संकटको गहिरो चपेटामा परेको छ। पार्टीको १५औं महाधिवेशन नजिकिँदै गर्दा एकातिर आन्तरिक असन्तोष चुलिँदै गएको छ भने अर्कातिर “पाँच भाइ” भनेर चिनिने शक्तिशाली नेताहरूको प्रभाव क्रमशः क्षीण हुँदै गएको देखिन्छ।
पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक नेतृत्व सम्हाले पनि संगठन सुदृढीकरण भन्दा सन्तुलनको राजनीति रोजेको आरोप लाग्दै आएको छ। नेतृत्व हस्तान्तरणमा अनिच्छा, नीतिगत अस्पष्टता र नयाँ पुस्तासँग संवादको अभावले संस्थापन गुट कमजोर देखिन थालेको छ।
पार्टीको नेतृत्व, नीति निर्माणदेखि सत्ता साझेदारीसम्म निर्णायक भूमिका खेलेको “पाँच भाइ” गुट – शेरबहादुर देउवा, विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह र रामचन्द्र पौडेल – आज राजनीतिक दृष्टिले कमजोर, आत्मविश्वासहीन र प्रभावहीन अवस्थामा पुगेका छन्।
संस्थापन गुटको केन्द्रमा रहेका देउवा पार्टीभित्र नेतृत्व तोक्न नचाहने नेता’को रूपमा आलोचित छन्। गगन थापा, विश्वप्रकाश शर्मा जस्ता उदीयमान नेताहरूको लोकप्रियताले उनको पकडलाई चुनौती दिँदै गएको छ।
एक समय मधेसमा प्रभावशाली नेता मानिएका बिमलेन्द्र निधि हाल सांगठनिक रूपमा कमजोर देखिएका छन्। न उनीसँग ठोस एजेन्डा छ, न सांगठनिक ऊर्जा। पार्टीभित्र उनको उपस्थिति झनझन ओझेलमा पर्दै गएको छ।
कृष्ण सिटौला – अवसरवादको आरोप
विगतमा मेलमिलापका पक्षधरका रूपमा चिनिएका सिटौला अहिले गुट सन्तुलनको नाममा अस्पष्ट भूमिका खेल्ने ‘अवसरवादी’ नेताको रूपमा आलोचित छन्। राजनीतिक अस्थिरताले उनलाई भरोसायोग्य पात्र बन्न दिएन।पछिल्लो समय संस्थापन गुटभित्र आफनै कारणले सिमित भूमिकाको रूपमा रहेको छ।
प्रकाशमान सिंह – खस्कँदो प्रभाव काठमाडौंको राजनीतिक सन्दर्भमा प्रकाशमानको प्रभाव झनझन घट्दै गएको छ। युवापुस्ताले उनलाई ‘अवशेष नेता’का रूपमा लिन थालेका छन्। संगठनभित्र स्पष्ट जनाधारको अभाव र अस्पष्ट रणनीतिले उनी कमजोर बनेका छन्।
रामचन्द्र पौडेल – अब निष्क्रिय भूमिकामा
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पार्टीको सक्रिय राजनीतिबाट बाहिरिएका छन्। उनको अनुपस्थितिले संस्थापन पक्षको रणनीतिक सामर्थ्यमा ठूलो खाडल देखिएको छ।
राजनीतिक समीकरण बदलिँदै
संस्थापन गुटमा नयाँ पुस्ता प्रति अविश्वास र नेतृत्व हस्तान्तरणको अनिच्छाले संगठनभित्र असन्तोष बढेको छ। युवाहरुले वैचारिक स्पष्टता, नीतिगत अग्रता र नविनता खोजिरहेका बेला पुराना नेताहरू संस्थापन पक्ष, विशेषतः शेरबहादुर देउवा नेतृत्वमा रहेको गुट अहिले सशक्त आन्तरिक संघर्षको मोडमा छ।
पछिल्ला दिनहरूमा गुटभित्रकै पुर्ब पदाधिकारी तथा प्रभावशाली नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, तथा राष्ट्रपति बनेका रामचन्द्र पौडेल — आ–आफ्ना रणनीतिक प्राथमिकता र नेतृत्व आकांक्षा सहित पृथक ध्रुव निर्माण तर्फ अग्रसर देखिन्छन्।
नेतृत्वको अनिश्चितता: देउवा पछिको उत्तराधिकारी तय नहुनु दीर्घकालीन नेतृत्वको अभावले गुटभित्र शक्ति सन्तुलन खलबल्याएको आरोप देउबा माथी लगाउन थालेको छ।
संयोजनको असफलतामा साझा नेतृत्व बनाउने प्रयत्नहरू पटक–पटक निष्फल भएका छन्, जसले आपसी अविश्वासको खाडल गहिरिएको छ।
राजनीतिक नेतृत्व महत्वाकांक्षामा सबै पूर्वपदाधिकारीहरू आफ्नो ऐतिहासिक हैसियत र सामाजिक सम्पर्कलाई प्रयोग गरी कांग्रेसको शीर्ष तहमा पुनःस्थापनाको प्रयासमा छन्।
देउवा गुट अब एउटै छातामुनि टिक्न सक्ने अवस्थामा छैन। आगामी महाधिवेशनमा संगठित समूहको रूपमा होइन, अलग–अलग लाइनको नेतृत्व गर्ने सम्भावना बलियो हुँदै गएको छ।यसले संस्थापन पक्षलाई अझ बिचलन र कमजोर बनाउनेछ, जसको लाभ नयाँ पुस्ता वा अन्य गुटहरूले उठाउन सक्छन्।
देउवा नेतृत्वको दीर्घकालीन प्रभाव कम हुँदै गएका बेला संस्थापन पक्षभित्र नेतृत्वको होड र ध्रुवीकरणले गम्भीर विभाजन निम्त्याउन सक्छ। आगामी महाधिवेशनसम्म यो प्रक्रियाले औपचारिक रूप लिन सक्ने प्रबल सम्भावना छ।
गगन थापा,विश्वप्रकाश शर्मा, प्रदिप पौडेल जस्ता नयाँ पुस्ताका नेताहरूको लोकप्रियताले देउवा पक्षलाई अझै असहज बनाइरहेको छ।
यदि देउबा समूहले युवा नेताहरूलाई समेटेर नया पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट योजना ल्याउने पहल नगरे जिल्ला तहका नेता झन् तीव्र रूपमा वैकल्पिक गुटमा लाग्ने सम्भावना बलियो बन्छ। देउवाको नेतृत्वमा रहेकाहरू अहिले सत्ताको सट्टामा नेपालीको आमुल परिवर्तन आफनो सुरक्षित भविष्य खोज्न बाध्य हुने छ।
नेपाली कांग्रेसको संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउबा करिब तीन दशकदेखि पार्टीमा निर्णायक प्रभाव राख्दै आएका नेता हुन्। तर हालको अवस्थामा उनको गुटभित्रकै नेताहरूबीच विश्वासको संकट, प्रतिस्पर्धा र भावी सत्ता नेतृत्वको होड तीव्र बन्दै गएको देखिन्छ।
देउबा गुटभित्र अहिले तीनवटा मुख्य ‘महत्वकांक्षी ध्रुव’ देखा परेका छन्:
विमलेन्द्र निधि – आफूलाई भावी सभापतिको बलियो दाबेदार मान्दै आएका निधिले देउवापछि गुटको औपचारिक नेतृत्व आफूले लिनुपर्छ भन्ने धारणामा छन्
ड. शशांक कोइराला वंशको उत्तराधिकारीका रूपमा उनी पनि सभापतिको दौडमा छन् तर देउबा सँग त्यति सधैं सहज सम्बन्ध रहेन।
कृष्ण सिटौला पक्ष – रणनीतिक हिसाबले कहिले कोसँग नजिकिने, कहिले टाढिने रणनीति अपनाउने सिटौलाको महत्वकांक्षा गुपचुप तर गहिरो छ।
यी सबै नेताहरूबीच आपसी समन्वय भन्दा पनि प्रतिस्पर्धा बढ्दो छ, जुन गुट विघटनको मूल कारण बन्न थालेको छ। गुटभित्रको विश्वास संकट देउबा स्वयं पनि कसैलाई स्पष्ट रूपमा सतहमा अन्नधुन्न दौडीरहेको पात्रको नाम घोषणा गर्न तयार छैनन्। यसले गर्दा गुटभित्रको संरचना ढकमक्क हुँदै गएको छ।महाधिवेशन नजिकिँदै गर्दा सिटौला र निधि पक्ष आ–आफ्नै बाटो हिँड्न सक्ने संकेत देखिँदैछ। संस्थापनको भबिष्यको नतिजा विघटनको संघार पार्टीमा देउबा गुट एकतावद्ध रहेसम्म बलियो रहन्थ्यो। तर अहिले: नेताहरू आ–आफ्नै फेसनल लाइन मा लागेका छन्, पद र उम्मेदवारीको लोभ ले गर्दा गुटमा सहकार्यको भावना समाप्त प्रायः छ, युवा पुस्ता गगन थापा, विश्वप्रकाश शर्मा प्रदिप पौडेलको तिब्र गतिमा उदयसँगै पुराना गुटहरू अप्रासंगिक हुँदैछन्।
देउबा गुट अब “पुरानो शक्ति संरचनाको अन्तिम अध्याय” तिर उन्मुख भएको देखिन्छ। यदि आफनै गुट भित्रको नेतृत्व हस्तान्तरणमा लफडा भए गुट भित्रैबाट फरक–फरक मोर्चा बन्न सक्छ, विमलेन्द्र निधि, सिटौला वा कोइरालाले आ–आफ्नो स्वतन्त्र लाइन लिएर देउबा गुटलाई पूर्णत: टुक्र्याउने कमजोर बनाउने सम्भावना प्रबल छ।


