
प्यालेस्टिनी समूह हमासले बन्धक बनाएरै राखेको कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन्। उनीहरू न्यूयोर्क पुगेर संयुक्त राष्ट्रसंघका पदाधिकारीसँग भेटी अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने तयारीमा छन्।
यसअघि जोशी परिवार इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेको थियो। तर ठोस प्रगति नभएकाले यसपटक संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय बनाउन पहल गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अमेरिकामा आवश्यक सहजीकरण गर्ने जनाएको छ।
विपिन जोशी सन् २०२३ मा कृषि तालिमका लागि इजरायल पुगेका थिए। तर २०८० असोजमा इजरायल–हमास युद्ध सुरु हुँदा उनी अपहरणमा परेका थिए। हालसम्म उनको अवस्था अज्ञात छ। नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि ठोस परिणाम नआएपछि जोशी परिवार अन्तर्राष्ट्रिय समर्थन खोज्दै सक्रिय भइरहेको छ।