नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन्। पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिनुभएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका हुन्। त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए। झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन्।

