सागादावा आध्यात्मिक उन्नतिको पवित्र समय
राजकुमार लामा
बौद्ध धर्मावलम्बीहरूले यस वर्ष पनि श्रद्धा र भक्तिपूर्वक एक महिनासम्म सागादावा पर्व मनाइरहेका छन्। भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति बोधि र महापरिनिर्वाणका तीन महत्त्वपूर्ण घटनासँग सम्बन्धित भएकाले यो पर्व विशेष रूपमा पवित्र मानिन्छ।
सागादावा महिनामा गरिने पुण्यकर्म जस्तै उपवास, ध्यान, पूजा, पाठ, दान आदि बौद्ध धर्मशास्त्र अनुसार अत्यन्त फलदायी मानिन्छन्। बौद्ध विश्वास अनुसार, सागादावाको समयमा गरिएको एक सानो पुण्यकर्मले पनि असाधारण परिणाम दिन्छ। त्यसैले, यस महिनामा गरिएका सकारात्मक कार्यहरू जीवनमा दीर्घकालीन आध्यात्मिक लाभ र पुनर्जन्ममा उत्तम परिस्थिति प्रदान गर्ने विश्वास गरिन्छ। पुण्य संचित गर्नुको अर्थ केवल व्यक्तिगत मुक्ति नभई समष्टिगत शान्ति र कल्याणको लागि योगदान दिनु पनि हो।
यस अवधिमा धर्मावलम्बीहरूले मन, वचन, र कर्म शुद्ध बनाउने प्रयास गर्छन्। विशेषतः अहिंसा अपनाउने, सांसारिक लोभबाट टाढा रहने र सद्कर्ममा संलग्न रहने प्रतिज्ञा गरिन्छ। पुण्य सञ्चय गर्ने यो अवसरलाई आत्मशुद्धि र करुणा प्रवर्द्धनको माध्यम बनाइन्छ।
पर्वको अवसरमा लुम्बिनी, बौद्ध, स्वयंभू, विभिन्न गुम्बा तथा छ्योर्तेनहरूमा धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ। कोरा परिक्रमा, अष्टाङ्ग ढोक, कंग्युर पाठ, प्रवचन तथा ञ्युन्ये व्रतजस्ता अभ्यासले आध्यात्मिक अनुशासनमा गहिरो सन्देश दिन्छन्। त्यस्तै, दान, भोजन, रक्तदान, र कपडा वितरणजस्ता सामाजिक कार्यहरूबाट समाजमा सद्भाव र सेवा भावनाको अभिवृद्धि गरिन्छ।
बौद्ध मान्यता अनुसार सागादावा महिनामा गरिएका कुनै पनि कर्म पुण्य होस् या पाप सामान्य अवस्थाको तुलनामा धेरै गुणा प्रभावशाली हुन्छ। त्यसैले धर्मावलम्बीहरू यस अवधिमा नकारात्मक कर्महरूबाट टाढा रहने र सकारात्मक कर्महरूमा विशेष संलग्न रहने प्रयत्न गर्छन्।
विशेषगरी अष्टमी, दशमी, पूर्णिमा, २५औँ तिथि, र औँसीका दिनहरूमा ‘सोज्योङ व्रत’ बस्न सकेमा अत्यधिक पुण्य प्राप्त हुने विश्वास छ। बौद्ध धर्मका ज्ञाता ठुलोपाखर उर्गेलिङ्ग गुम्बाका लामा उर्गेलिङ्ग गुम्बा निर्माण समितिका सचिब ढुबा लामाका अनुसार, यी विशेष तिथिहरू आध्यात्मिक साधनाका लागि अत्यन्त अनुकूल मानिन्छन्।
आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा सागादावा पर्व आत्मचिन्तन, आन्तरिक शुद्धि र ध्यानमा प्रवेशको अवसर हो। यो पर्व केवल धार्मिक कर्मकाण्डमा सीमित नरही, आध्यात्मिक रूपान्तरण र समाजसेवा दुवैको सन्तुलन हो।
यसरी, सागादावा पर्व बौद्ध धर्मावलम्बीहरूका लागि आत्मशुद्धि र पुण्य प्राप्तिको माध्यम मात्र नभई, समाजमा शान्ति, सद्भाव र करुणा फैलाउने प्रेरणाको स्रोत बनेको छ। यस पर्वले हामीलाई प्रेम, सहानुभूति र उत्तरदायित्वको बोध गराउँदै धर्मको सारलाई जीवनयापनमा व्यवहारमा उतार्न उत्प्रेरित गर्छ।



