२०८२/०८/२३
मानव सभ्यता मानवका असल कार्यहरुको कारणबाट नै सिर्जिएको हुन्छ। यस धरतीमा यस्ता असल र त्यागी व्यक्तिहरुमध्य दधीचि ऋषिको नाम छुटाइयो भने मानव सभ्यता माथि नै अन्याय हुनेछ। हिन्दू दर्शनको विराट परम्परामा दधीचि ऋषिको नामलाई होइन उनको मानव सम्रक्षणको लागि गरिएको महान कर्म नै हो। उहाँ कुनै युद्ध जित्ने वीर होइनन्, न त राज्य चलाउने शासक नै हो तर पनि उहाँको त्याग नै अनमोल र अविस्मरणीय छ। उहाँले मानव सभ्यतालाई दिएको सन्देश यति गहिरो छ कि समय, सत्ता र शास्त्र सबैभन्दा माथि उभिएको छ । दधीचि ऋषिको जीवन दर्शन बुझ्नु भनेको नै मानव मरेर पनि कसरी बाच्न सक्छ भन्ने नै हो।
दधीचिको कथा वृत्रासुर वधसँग जोडिएको छ। यसको अर्थ केवल देवता–दानव युद्धसम्म सीमित नभइ त्यो त मानिसभित्र सधैं चलिरहने स्वार्थ र कर्तव्य, भय र साहस, देह र चेतनाबीचको संघर्षको प्रतीकको रूपमा लिने गरिन्छ। दधीचिले देह दान गर्दा देखिने क्रिया बाहिरको घटना मात्र हो; यसको वास्तविक सार भित्री बोधमा लुकेको छ—देह भन्दा मूल्य ठूलो हुन्छ अर्थात् एक कसैको देह त्यागिदिदा समग्र मानवको कल्याण हुन्छ भने त्यसको मोल अनमोल हुन्छ । देह त्याग पश्चात पनि जिइरहेको हुन्छ। स्थुल शरीरको अन्त्य तथा सतकर्म जिवन्त भइरहेको हुन्छ भन्ने सन्देश मानव कल्याणको लागि गरिएको ऋषि दधीचिको देह त्यागले दर्शाउँछ।
उपनिषद् दर्शनले भन्छ— “अयम् आत्मा न हन्यते हन्यमाने शरीरे” अर्थात् शरीर नाश भए पनि आत्मा नष्ट हुँदैन भनेर भन्छ भने त्यही सन्देश गितामा पाइन्छ। दधीचिको देहत्याग यही दर्शनको व्यवहारिक रूप हो। उहाँका लागि शरीर अन्तिम सत्य थिएन, साधन मात्र थियो। जब शरीर साधन भयो, त्याग असह्य हुँदैन; त्यो त कर्तव्यको स्वाभाविक परिणति बन्छ भन्ने सन्देश पाइन्छ भने महाभारतकाे युध्दमा जव अर्जुन युध्दको लागि तयार भएनन् कृष्ण भगवानले समयचक्रलाई रोकी अर्जुनलाई ज्ञान प्रदान गरी आत्मा अजम्बरी हुन्छ, शरिर नाशवान हुन्छ भनेपछि उनी युद्धको लागि तयार भएको सन्देश पस्किएको पाइन्छ।
दार्शनिक दृष्टिले हेर्दा, दधीचिको निर्णय उपयोगितावाद (Utilitarianism) सँग पनि मेल खाएको पाइन्छ। एउटा व्यक्तिको बलिदानबाट सम्पूर्ण देवसमाज सुरक्षित भएको थियो। तर दधीचि केवल बहुसंख्यक हित हेर्ने उपयोगितावादी मात्र होइनन्; उहाँ कर्तव्यवादी (Deontological) पनि भएको पुष्टि हुन्छ। लोककल्याण गर्नु उहाँको धर्म थियो। परिणाम जे भए पनि कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने भावनाले उहाँलाई प्रेरित गरेको थियो।
यहाँ अर्को गहिरो पक्ष पनि देखिन्छ – त्यो अहंकारको विसर्जन। सामान्य मानिस आफ्नो ‘म’ जोगाउन संघर्ष गर्छ तर दधीचिले ‘म’ नै त्यागे। यही त्यागको क्षणमा व्यक्तिगत अहं समाप्त हुन्छ र विश्वचेतनासँग एकीकरण हुन्छ। उपनिषद्को “अहं ब्रह्मास्मि” भाव दधीचिको कर्ममार्फत मूर्त भएको पाइन्छ।
आधुनिक दर्शनको दृष्टिले समेत दधीचि प्रासङ्गिक छन् भन्ने बुझिन्छ। आजको समाज उपभोग, सुविधा र आत्मकेन्द्रितताले भरिएको छ र यहाँ जीवनको मूल्य ‘कति कमायो?’ वा ‘कति भोग गर्यो?’ भन्ने प्रश्नसँग जोडिएको छ। दधीचि भने सोध्छन्—“कसको लागि बाँच्छौ?” यही प्रश्न नै नैतिक दर्शनको केन्द्र बनेको छ।
दधीचिको त्याग अन्धभक्तिको परिणाम नभइ सचेत निर्णय पनि हो। उहाँले पीडा बुझ्ने, मृत्यु बुझ्ने भएकोले नै त्यसभन्दा माथि उठ्न सके र मरेर पनि बाँचिरहेको पाउँछौं। यसैकारण उहाँको देहत्याग आत्महिंसा होइन, आत्मउत्कर्ष हो। जब उद्देश्य पवित्र हुन्छ, बलिदान विनाश होइन—सृजनशिल बन्न पुग्छ।
अन्ततः दधीचि ऋषिको त्यागले हामीलाई सम्झाउँछ- मानव जीवनको चरम उपलब्धि दीर्घायु होइन, गहिरो अर्थ हो। जब जीवन अरूका लागि अर्थपूर्ण बन्छ, त्यही क्षण अमरत्व सुरु हुन्छ भन्ने सन्देशकासाथ दधीचिको देह त्यागले स्मरण गराउँछ। उनको विचार र त्यागमा उनी कहिल्यै मरेनन्। यही नै दर्शन हो, यही नै दधीचिको मानव सभ्यताको लागि दर्शाएको दर्शन थियो।
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल काठमाडौं


