बुटवल । रोल्पाका दुई क्याम्पसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु समाजवादीले सबै संगठनको गठबन्धनलाई हराउँदै प्यानलसहित विजयी भएको छ ।
जिल्लाको थवाङस्थित शहिद स्मृति क्याम्पस र नमुना क्याम्पसमा अखिल समाजवादीको प्यानल विजयी भएको हो । यहाँ विप्लवविरुद्ध नेकपा माओवादी केन्द्रसहित सबै दलनिकट संगठनहरुले गठबन्धन गरेका थिए । शहिद स्मृति क्याम्पसको स्ववियु अध्यक्ष स्वर्णिम रोकामगर, सचिवमा प्रकृति झाँक्रीमगर, कोषाध्यक्ष बीरशक्ति बुढामगर विजयी भएका छन् ।
यस्तै नमूना क्याम्पसको अध्यक्षमा चुरामणि केसी, सचिवमा देवेन्द्र डाँगी, कोषाध्यक्षमा टोपबहादुर परियार विजयी भएका छन ।
चार क्याम्पस रहेको रोल्पामा दुई क्याम्पसमा भने विवाद भएका कारण निर्वाचन रोकिएको छ । विवाद भएका कारण नवनेपाल क्याम्पस त्रिवेणी जँुगारमा ताल्चा लागेको छ भने रोल्पा जलजला क्याम्पसमा भने विवादका कारण १८ गतेलाई सारिएको छ ।



