अग्रजसँग वर्तमान कविता : अविनाश श्रेष्ठको जीवन, साहित्य र अनुभवसँग साक्षात्कार


काठमाडौं, कोटेश्वर । वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाको चौथो संस्करण वरिष्ठ कवि अविनाश श्रेष्ठको सान्निध्यमा सम्पन्न कार्यक्रमले नेपाली साहित्यमा पुस्तान्तरण, अनुभव आदान–प्रदान र सृजनात्मक संवादको महत्त्वलाई पुनः उजागर गरेको छ।
अग्रज पुस्ताका ज्ञान, अनुभव, संघर्ष र सिर्जनात्मक यात्रालाई अनुज पुस्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस शृंखलाले यसपटक नेपाली साहित्यका विशिष्ट स्रष्टा अविनाश श्रेष्ठलाई केन्द्रमा राख्दै अर्थपूर्ण संवादको वातावरण निर्माण गर्‍यो। कार्यक्रमको मूल मर्म नै अग्रजको सम्मानमार्फत साहित्य र सिर्जनशीलताको सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।
समसामयिक समाज, श्रमिक वर्गको जीवन, मानवीय पीडा र सामाजिक यथार्थलाई आफ्नो लेखनको केन्द्रमा राख्दै आएका कवि श्रेष्ठले नेपाली कवितामा प्रगतिशील तथा यथार्थवादी चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएका छन्। सरल, प्रभावकारी तथा प्रतीकात्मक भाषाशैलीका कारण उनी नेपाली साहित्यमा विशिष्ट पहिचान बनाएका स्रष्टा मानिन्छन्। सामाजिक असमानता, शोषण, अन्याय र मानव संघर्षलाई कलात्मक बान्की दिई प्रस्तुत गर्नु उनका कविताका प्रमुख विशेषता हुन्। नेपाली पर्या कविताको उषाकालको सुरुवात गर्नुहुने र निरन्तर पर्या कवितामा कलम चलाउदै आउनुभएका अविनाश श्रेष्ठको योगदान पर्या साहित्यमा विशिष्ट छ ।  नेपाली आधुनिक काव्यधारामा अग्लो स्थान बनाएका श्रेष्ठका ‘करोडौँ सूर्यहरूको अन्धकार’, ‘परेवा : सेता–काला’, ‘संवेदना/ओ संवेदना !’ र ‘अनुभूति यात्रामा’ जस्ता कृतिहरूले नेपाली कवितामा नयाँ भाषिक संवेदना र बिम्बात्मकता भित्र्याएका छन्। उनी असममा जन्मिएर पछि नेपालमा स्थायी रूपमा बसोबास गर्दै नेपाली कवितामा भारतीय तथा विश्व साहित्यका प्रभावलाई सृजनात्मक ढङ्गले समायोजन गर्ने कविका रूपमा समेत परिचित छन्।
कार्यक्रममा कवि श्रेष्ठले असमको गुवाहाटीमा बिताएका साहित्यिक जीवनका सुरुवाती दिनहरू, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको भेट, भारतीय भूमिमा नेपाली भाषी समुदायले भोग्नुपरेका चुनौतीहरू तथा नेपाल आगमनपछि विष्णुविभू घिमिरेलगायत साहित्यिक सहयात्रीहरूसँगको सम्बन्धबारे रोचक संस्मरण सुनाए। उनले आफ्नो साहित्यिक यात्राको समीक्षा गर्दै अनुज पुस्ताका सम्भावना, कमजोरी तथा नेपाली समालोचना विधामा देखिएका सीमाहरूबारे समेत गम्भीर विश्लेषण प्रस्तुत गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा उनले आफ्नै भाषामा फर्क, ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ जस्ता सशक्त कविताहरू वाचन गरेका थिए। कविताप्रेमीहरूका लागि ती प्रस्तुति अविस्मरणीय बने।
कार्यक्रमको प्रारम्भमा वर्तमान कविता समूहका विश्व सिग्देलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस्ता अन्तरपुस्ता संवादले अनुभव, ज्ञान र संस्कारको हस्तान्तरण गराउने बताए। उनले अग्रजहरूले जीवनमा भोगेका संघर्ष र सफलताका कथाबाट युवापुस्ताले प्रेरणा तथा मार्गदर्शन प्राप्त गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले पुस्ताबीचको दूरी घटाउने, आपसी सम्मान र सहकार्यलाई सुदृढ बनाउने धारणा राखे। यसअघि यस शृंखलामा स्नेह सायमी, श्यामल र लक्ष्मी माली सहभागी भइसकेको जानकारी पनि उनले दिए।
अविनाश श्रेष्ठको जीवनदर्शन, साहित्यिक चिन्तन र सृजनात्मक यात्राबारेको श्रवणपछि कवितावाचनको सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा विष्णुविभू घिमिरेले ‘वसन्तभन्दा ठूलो विश्वास’, सुरज पराजुलीले ‘अभिनय’, केशव भट्टराईले ‘घर’, उमेश अकिञ्चनले ‘अक्षर इच्छा’, धीरकुमार श्रेष्ठले ‘पुनरावृत्ति’, चन्द्रबहादुर लामाले ‘पहिरो गएपछि’, प्रेमिला राईले ‘अन्तिम अनुरोध’, प्रज्वल अधिकारीले ‘बडो भयावह चित्र बनाउँदै छ चित्रकार’, विश्व सिग्देलले ‘बा बन्दै गइरहेछु’, रमी प्रियाले आफ्नो दाहिने मुटु कविता तथा शकुन्तला जोशीले ‘हिमाल : एक कथावाचक’ शीर्षकको कविता वाचन गरेका थिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा बंगलादेशबाट नेपाल भ्रमणमा रहेकी समकालीन बंगाली कवि तथा कथाकार सेँजुती बरुवाको पनि उपस्थिति रहेको थियो। साहित्यिक सिर्जनामा सक्रिय बरुवाले कविता र कथामार्फत समकालीन दक्षिण एसियाली समाजका विविध अनुभव र संवेदनालाई अभिव्यक्त गर्दै आएकी छन्। उनले महासागर शीर्षकको नेपालीमा अनुवाद आफ्नो कविता वाचन गरेकी थिइन् भने बङ्गाली र अंग्रेजी भाषामा पनि क्रमशः यट द स्पाइस सप र ओ मर्मेड वाचन गरेकी थिइन् । उनको उपस्थितिले कार्यक्रममा अन्तरदेशीय साहित्यिक संवादको आयाम थपेको सहभागीहरूले बताएका थिए।
साहित्य केवल पुस्तकका पानामा सीमित रहने विषय होइन, अनुभव, संवाद र निरन्तर हस्तान्तरणको जीवित परम्परा हो भन्ने सन्देश यस कार्यक्रमले दिएको सहभागीहरूको भनाइ थियो। अग्रज र अनुज पुस्ताबीचको रचनात्मक सेतुका रूपमा स्थापित हुँदै गएको ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाले नेपाली साहित्यिक वृत्तमा अर्थपूर्ण बहस, सम्मान तथा ज्ञान–सीप हस्तान्तरणको संस्कृति विकास गर्दै गएको अनुभूति कार्यक्रमभरि स्पष्ट देखिन्थ्यो। साहित्यिक चेतना, सामाजिक संवेदनशीलता र पुस्तान्तरणको सुन्दर संगम बनेको यो कार्यक्रम समकालीन नेपाली साहित्यका लागि प्रेरणादायी उदाहरणका रूपमा स्मरणीय रहने सहभागीहरूले बताएका छन्।