काठमाडौं, असार ५, २०८३ (जुन १९, २०२६) | राजन थापा
निजी क्षेत्रको उत्थानका लागि निरन्तर संघर्ष, दूरदर्शी सोच तथा समर्पित नेतृत्व प्रदान गरेको योगदानको कदरस्वरूप नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न भव्य समारोहमा उनलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
आयोजकका अनुसार उद्योग, व्यापार तथा उद्यमशीलताको क्षेत्रमा वर्षौँदेखि पुर्याउँदै आएको योगदान, निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने नेतृत्व क्षमता तथा आर्थिक विकासमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सम्मान प्रदान गर्दा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा विशिष्ट व्यक्तित्वहरूले पोखरेलको योगदानप्रति सम्मान व्यक्त गर्दै ताली बजाएर अभिनन्दन गरेका थिए।
सम्मान ग्रहणपछि भावुक देखिएका अध्यक्ष पोखरेलले यो पुरस्कार आफ्नो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, नेपाल चेम्बर अफ कमर्स परिवार तथा लुम्बिनी प्रदेशका उद्यमशील युवाहरूको साझा सम्मान भएको बताए। उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन तथा राष्ट्रको आर्थिक समृद्धिका लागि अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
व्यापारिक वातावरण सुधार, लगानीमैत्री नीतिको निर्माण, उद्यमशीलताको प्रवर्द्धन तथा सरकार र निजी क्षेत्रबीच सहकार्यको पुल निर्माण गर्न पोखरेलले खेलेको भूमिका आज धेरै व्यवसायी तथा युवा उद्यमीका लागि प्रेरणाको स्रोत बनेको छ। उनका प्रयासहरूले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आर्थिक गतिविधिलाई थप गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
यो सम्मानले केवल एक व्यक्तिको सफलताको कथा मात्र नभई नेपालको निजी क्षेत्र र आर्थिक समृद्धिका लागि दिनरात खटिरहेका हजारौँ उद्यमीहरूको मेहनत, समर्पण र सपनाको पनि सम्मान गरेको छ।
कर्पोरेट बिजनेस म्यागजिनले हरेक वर्ष विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यस समारोहको १८औँ संस्करणमा टंक प्रसाद पोखरेललाई प्रदान गरिएको सम्मानले नेतृत्व, समर्पण र कामप्रतिको निष्ठाको उच्च मूल्य रहेको सन्देश प्रवाह गरेको छ।
