काठमाडौँमा श्रमिक सम्मानमा गुञ्जियो कविता

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँको कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भिन्न पुस्ताका दुई दर्जनभन्दा बढी कविहरूले श्रम, श्रमिकको सम्मान, पीडा, संघर्ष र अधिकारका विषयमा सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुवात वरिष्ठ कवि श्यामलले ‘फरक फरक लोकतन्त्र’ शीर्षकको आफ्नो नयाँ कविता र ‘पित्तलको पिकदानी’ शीर्षकको अनुवाद कविता वाचन गर्दै गरेका थिए। ती कवितामार्फत निर्वाचनमा प्रयोग हुने श्रमिकहरूको विडम्बना र श्रम शोषणमाथि तीखो राजनीतिक टिप्पणी गरिएको थियो। कवि रामगोपाल आशुतोषले ‘भोकको रामायण’ मा पुस्तौँदेखि श्रमिक वर्गले भोग्दै आएको अभावको कथा प्रस्तुत गरे भने कवि कञ्चन गजमेरले ‘पसिनाको मूल्य’ मार्फत श्रमको वास्तविक महत्त्व दर्शाइन्। कवि मिथोचले ‘पसिनाको गीत’ मा श्रमिककै पसिनाले पृथ्वी सुन्दर र हरियो बनेको भाव व्यक्त गरे। प्रमोद स्नेहीले ‘श्रमिक, बुद्ध र सिटामोल’ मा उपचार नपाएर मृत्युसँग जुधिरहेका श्रमिकहरूको कारुणिक अवस्था चित्रण गरे भने जयन्ती स्पन्दनले ‘मौन नायक र जीवन सौन्दर्य’ मार्फत श्रमजीवीहरूलाई संसारका वास्तविक नायकका रूपमा प्रस्तुत गरिन्।

कवि शेखर कुमार श्रेष्ठले ‘विगत बिर्सेपछि’ कवितामा शिल्पी जातिको पुख्र्यौली पहिचान र वर्तमान उपेक्षाको प्रसङ्ग उठाए। बाबु त्रिपाठीले ‘यो देश कसको हो?’ कवितामार्फत राज्य व्यवस्थामा श्रमिकको हिस्सा र स्वामित्वबारे प्रश्न उठाए भने नमुना शर्माले ‘श्रमिकको श्रम’ को गरिमा वर्णन गरिन्। कवि किसन पौडेलले ‘घटेरो’ मार्फत गरिबीको चक्रमा घुमिरहेको श्रमिक जीवन प्रस्तुत गरे भने कवि अभय श्रेष्ठले ‘श्रम’ शीर्षकको गीतिमय कवितामा श्रमिकको स्वाभिमान र अठोट उजागर गरे। लुमन्ती चित्रकारले ‘नथाकेका हातहरू’ मा समृद्धिको चक्र घुमाउने अथक हातहरूको महिमा गाइन्। शकुन्तला जोशीले ‘भोकको जुलुस’ मा थिचिएका आवाजहरू विद्रोहका रूपमा उठ्ने चेतावनी दिइन् भने अनिता लामाले ‘सन्नाटा’ मा सहर बनाउने श्रमिकहरू नहुँदा छाउने शून्यता र विद्रोहको सम्भावनाबारे चर्चा गरिन्। लक्ष्मी मालीले ‘हली र मैसाबको वार्ता’ मार्फत श्रमपछिको आराम र भोकमा हुने वास्तविक मिठास प्रस्तुत गरिन्। राजबाबु पहाडीले ‘बाल श्रमिक’ मार्फत राजनीति र निर्वाचनमा बालबालिकाको श्रम कसरी शोषित हुन्छ भन्ने यथार्थ बोले।

त्यसैगरी कवि अमर आकाशले ‘स्वाद’ कवितामार्फत काममा गएकी आमाको प्रतीक्षामा रहेका बालबालिकाको भोक र मनोविज्ञान चित्रण गरे भने कवि चाचुले ‘गुजुल्टिएको नाम्लो’ मार्फत भारी बोक्ने श्रमिकको काँधमा थपिएको जिम्मेवारी र आर्थिक मन्दीको असर उजागर गरे। प्रेमिला राईले ‘यान्छाप्पा’ मार्फत वैदेशिक रोजगारीमा गएर नफर्किएका बाबु र उनलाई कुरिरहेकी छोरीको मर्मस्पर्शी कथा प्रस्तुत गरिन्। प्रशान्त खरेलले ‘को हो आलु माइला?’ कवितामा सहरलाई धान्ने तर परिचयविहीन बनाइएका श्रमिकहरूको पहिचान खोजे। सोमनाथ दाहालले ‘बत्ती’ मा श्रमलाई विभेदको अँध्यारो हटाउने न्यायको उज्यालोका रूपमा व्याख्या गरे भने गोपाल कुमार मैनालीले ‘ऊ मजदुर हो’ मार्फत महल बनाउने तर आफैँ सधैँ ढोका बाहिर रहने श्रमिकको विडम्बना सुनाए। राजाराम राउतले ‘मजदुर दिवस’ मार्फत श्रमिक अवस्थामाथि व्यङ्ग्य प्रहार गरे भने स्नेह सायमीले ‘सुचीकार’ मा अरूको इज्जत सिउने तर आफ्नै सपना उध्रिएका सुचीकारको व्यथा सुनाए। धीरकुमार श्रेष्ठले ‘भरिया दाइ’ मा गाउँ–सहर जोड्ने श्रमिकप्रति सम्मान व्यक्त गरे। रिता बलामीले घरभित्र दिनरात खटिने आमाको श्रम पनि कुनै श्रमिकको भन्दा कम नभएको सन्देश दिइन्।

वासुदेव अधिकारीले ‘अक्टोबर र श्रमिक’ मार्फत श्रमिक चेतनाको ऐतिहासिक पक्ष उजागर गरे भने चन्द्रबहादुर लामाले ‘श्रम दिवसमा’ कवितामा एक श्रमिकको दैनिक संघर्ष चित्रण गरे। कार्यक्रमकी सहजकर्ता कवि रमी प्रियाले ‘मानिस र पर्खाल’ मार्फत प्रकृतिका जीवहरूले सहकार्यको घर बनाउने तर मानिसले मालिक र मजदुरबीच विभेदको पर्खाल खडा गर्ने तीतो यथार्थ प्रस्तुत गरिन्।

समारोहको समापन वर्तमान कविता समूहका सदस्य एवं कवि विश्व सिग्देलले ‘जुस पसलमा’ शीर्षकको कविता वाचन गर्दै गरेका थिए। उक्त कवितामा मेसिनले उखुलाई निचोरेर रस निकालेझैँ समाज र व्यवस्थाले श्रमिकको ऊर्जा र जीवनलाई पनि कसरी निचोरेर रित्तो बनाउँछ भन्ने मार्मिक यथार्थ प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा बोल्दै सिग्देलले विगत दुई वर्षदेखि निरन्तर यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले आगामी ‘विश्व वातावरण दिवस’ को अवसरमा पनि अर्थपूर्ण साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले कार्यक्रमका लागि सभाहल उपलब्ध गराउने जागरण एकेडेमीका प्रतिनिधि राधिका अधिकारीलाई धन्यवाद ज्ञापन गरे। समग्रमा कार्यक्रमले श्रमको सम्मान, श्रमिक अधिकार र साहित्यिक ऐक्यबद्धताको सशक्त सन्देश दिएको थियो।