सिन्धु विकास बैंकमा संचालकहरुबीच झगडा, बार्षिक साधारणसभा स्थगित

काठमाडौं । सिन्धु विकास बैंकको १४ औं र १५ औं बार्षिक साधारणसभा स्थगित भएको छ । संचालकहरुबीच आन्तरिक विवादको कारण बैंकको बार्षिक साधारणसभा स्थगित भएको हो । आज अर्थात फागुन २८ गते मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा बोलाएको साधारणसभा संचालनका लागि चाहिने ५१ प्रतिशत प्रोक्सी नपुगेपछि स्थगित भएको बैंकले जनाएको छ । संचालकहरुबीच आन्तरिक विवाद बढेपछि केही संचालकहरुले प्रोक्सी दिएका थिएनन् । बलजबस्ती साधारणसभा गरे नियामन निकायहरुमा उजुरी दिने धम्की व्यवस्थापनलाई आएपछि बार्षिक साधारणसभा स्थगित गर्न बैंक पुगेको हो । साधारणसभा स्थलमा ठूलो संख्यामा पब्लिक सेयरधनीहरु पुगेका थिए ।

पछिल्लो समय संंचालक समितिका सदस्यहरुबीच विवाद बढेपछि बैंक दिनप्रति दिन धरासायी बन्दै गएको देखिन्छ । बैंकबाट बचतकर्ताले बचत रकम धमाधक झिक्न थालेका छन् । कर्णाली विकास बैंकको बाटोमा सिन्धु विकास बैंक रहेको बैंकको वित्तीय सुचांकले देखाउँछ । बैंकको आर्थिक सुशासनमाथि यतिबेला नेपाल राष्ट्रबैंकले प्रश्न उठाइरहेको छ । बैंकका संचालकहरुले विगत दुई वर्षदेखि बार्षिक साधारणसभा गर्न सकेका छैनन् । संचालकहरुको आन्तरिक विवादले नाजुक अवस्थामा पुगेपछि  बैंकले मर्जरको लागि पार्टनर खोज्न थालेको छ । बैंकले पुँजी बृद्धिको लागि २ : १ को अनुपातमा हकप्रद सेयरको प्रस्ताव अघि सारेको छ । बैंकले पछिल्लो समय सेयरधनी र बचतकर्ताको विश्वास गुमाउँदै गएकोछ ।