काठमाडौँ —सरकार र आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधिबीच मंगलबार साँझ भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तसँग भएको वार्तामा निष्कर्षमा पुग्न नसकेको हो । तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् ।
‘हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं,’ वार्तापछि मन्त्री पन्तले भने ।
यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले आज मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै भोलि बेलुकीसम्म सबै सार्वजनिक गर्ने बताए । वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।
आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी मंगलबार ढिला गरी मन्त्रालय पुगेका थिए । सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।
महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी थिए ।



