मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौको मखन आगलागी समयमा किन नियन्त्रण हुन सकेन? कारण पत्ता लगाउन छानविन समिति गठन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिनुभएको छ । निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’