बागमती प्रदेश सहकारी सम्मेलनले सहकारीका समस्या समाधानको निचोड निकाल्नेमा मुख्यमन्त्री तामाङ विश्वस्त

बहादुर सिंह तामाङले बागमती प्रदेश सरकार सहकारीलाई अगाडि बढाएर लैजान तयार छ तर नागरिकको पैशा डुब्न नदिने बताउनुभएको छ । आजबाट ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले १/२ वटा सहकारी संस्थाले गरेको मिस्युजको हल्लाले सहकारीमा समस्या आएको बताउनुभयो । सहकारीबाट समाजमा भएकध योगदान र यसको महत्वको बारेमा प्रकाश पार्दै उहाँले प्रथम बागमती प्रदेश सहकारी सम्मेलनले सहकारीमा देखिएका समस्याको समाधानको निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मधु श्रेष्ठले सहकारीक‍ो ऋण नतिर्ने व्यक्तिलाई स्थानीय तहबाट प्रदान गरिने सिफारिस सहितका सेवा सुविधा प्रदान गर्नु रोक्नु पर्ने बताउनुभयो । समस्यामा परेपनि चल्न सक्ने सम्भावना भएका सहकारी संस्था चलाउन बागमती प्रदेश प्रदेश , सहकारी तथा गरिवी निवारण मन्त्रालयले चलाउन प्रयत्न गर्ने बताउदै उहाँले सहकारीको बारेमा नकारात्मक समाचार प्रवाह हुदा सहकारीले समाजमा गरेको योगदान ओझेलमा परेको बताउनुभयो । विदेशमा बस्नेहरुले देशमा यो भएन , त्यो भएन भनेर योजनाबद्ध ढंगबाट अफवाह फैलाएको भन्दै त्यस्ता गतिविधिप्रति आपत्ती जनाउदै उहाँले ‘देशमा गणतन्त्र आएपछि मुलुकमा विकास निर्माण भइरहेको छ’, भन्नुभयो ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारी नियमन प्राधिकरणले सहकारी नियमनको काम गर्छ र सहकारी विभागलाई सहकारी प्रवर्द्धनका काममा लगाउने बताउनुभयो । उहाँले सहकारी अध्यादेशमा भएका त्रुटि सच्याएर प्रतिस्थापन विधेयक आएको बताउनुभयो ।

उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकि अध्यक्ष ओमदेवी मल्लले प्रदेश सरकारले सहकारीको लागि बजेट छुट्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले बागमती प्रदेश सहकारी संघ लि.ले यो सहकारी सम्मेलन आयोजना गरेर सरहानीय कार्य गरेको बताउनुभयो ।

त्यस अवसरमा पेपर प्रेजेण्ट गर्दै डा.विमल कोइरालाले उदार अर्थतन्त्रसँगै उदार लोकतन्त्र भयो भने मात्र सहकारी फष्टाउने बताउनुभयो । उहाँले ‘सहकारी नियमन प्राधिकरणले सहकारीको प्रवर्द्धन हुने भन्दापनि सहकारीकर्मीको हक संकुचित हुन्छ’, भन्नुभयो । सहकारीमा हकसँगै कर्तव्यको ख्याल गरेर काम गर्नु पर्नेमा जोड दिदै उहाँले सहकारी जागरण आवशणयक भएको बताउनुभयो ।

उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सिक्किम राज्य सहकारी संघका उपाध्यक्ष पूर्णप्रसाद शर्माले सहकारीमार्फत उत्पादनशील कार्य गर्नु पर्ने बताउनुभयो ।

बागमती प्रदेश सहकारी संंघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले उक्त सम्मेलनको अध्यक्षता गर्दै ऐतिहासिक प्रथम बागमती प्रदेश सम्मेलनमा धेरै सहकारीकर्मीहरुले सहभागी हुने चाहेपनि बाध्यत्मक परिस्थितिले ५६६ जना प्रतिनिधिले मात्रै यो सम्मेलनमा दर्ता गरेको बताउनुभयो । उहाँले सम्मेलन गर्नुको उद्देश्यबारे चर्चा गर्नुभएको थियो ।

उक्त उद्घाटन सत्रको सञ्चालन गर्दै बागमती प्रदेश सहकारश्र संघ लि.का महासचिव नेत्रप्रसाद पौडेलले सहकारीको विकल्प सहकारी नै भएको बताउनुभयो ।

तणयस अवसरमा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

भोलिसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न विद्वानहरुले प्रस्तुत गर्ने ५ वटा पेपर तथा पालिकाहरुले गरिरहेका सहकारी सम्बन्धी क्रियाकलाप लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यमा बागमती प्रदेश सहकारी संंघ लि.को आयोजनामा सञ्चालन भइरहेको उक्त सम्मेलनमा अतिथि, आयोजक र प्रतिनिधि गरि ७०० जनाको सहभागिता रहेको आयोजकको भनाई छ ।