नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था पुनःस्थापनाको बहसलाई चुनौती दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावी प्रतिस्पर्धामा आउन आह्वान गरेका छन्।
बाँकेमा आज आयोजित नेपाली कांग्रेसको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले भने, “काठमाडौँको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गरेर राजसंस्था फर्किँदैन। यदि साहस छ भने श्रीपेज चुनाव चिह्न लिएर आउनुस्, चुनाव जितेर देखाउनुस्।”
पूर्वराजालाई व्यंग्य गर्दै उनले थपे, “राजसंस्थाको रेल छुटिसकेको छ, अब त्यो कहिल्यै फर्किंदैन।”
शर्माले हाल देशभर शिक्षकहरू आन्दोलित भइरहेका बेला प्रधानमन्त्रीले वार्ता गरी समस्या समाधान गर्नु आवश्यक रहेको औँल्याए। साथै, उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्षको कार्यकाल पूरा गर्न दिने लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्नुपर्ने धारणा राखे।



