शुक्रबार राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए । तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी गरेका छन् ।
व्यवसायी मीन बहादुर गुरूङले निजी क्षेत्रमाथिको आक्रमण नियोजित भएको बताएका छन् । निजी जायजेथा, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी, लुटपाट नियोजित भएको बताए ।

३५/३६ सालदेखिको राजनीतिको ज्ञान भएपनि जीवनमा यस्तो अराजक गतिविधि नदेखेको उनले बताए । निजी क्षेत्रको व्यवसायीलाई आक्रमण गर्नु दुखत विषय रहेको उनको भनाइ छ ।
‘म एउटा व्यवसायि भएपनि राजनीतिमा ३५÷३६ सालदेखिको ज्ञान छ । यस्तो दुर्घटना वा अक्षम्य घटना कहिले जीवनमा देखेको थिएन । निजी क्षेत्रको व्यवसायीलाई आक्रमण गर्नु भनेको दुखत विषय हो । यो घटना नियोजित हो । कान्तिपुरलाई जलाउन खोज्ने, अनि अन्नपुर्ण र भाटभटेनीलाई जलाउन खोज्नु नियोजित हो । यो दुखत छ,’ उनले भने ।
आन्दोलनकारीहरूले गर्न नहुने कार्य गरेको बताउँदै गुरूङले भने, ‘गलत बाटोमा गए । मिडिया हाउस, व्यवसायमाथिको तोडफोड गरेर गलत काम भयो । यो बिल्कुल गलत काम भयो ।’
उनका अनुसार भाटभटेनी सुपरमार्केट्समा धेरै ठूलो क्षति हुन नपाएपनि सीसाहरू फुटेका छन् । साथै, मोबाइल, घडी, बियर, ह्विस्कीहरू लगेको उनले बताए ।
‘धेरै ठूलो क्षति भएको छैन । सीसाहरू फुटेका छन् । अब इन्जिनीयरहरूले हिसाब गर्दैछन् । क्षतिको विवरण आउन केही समय लाग्छ,’ उनले भने, ‘बाहिर भएका धेरै सामान लुटपाट गरे । मोबाइल, घडीहरू लगे । बियर, ह्विस्कीहरू धेरै लगेका छन् । गर्न नहुने काम भयो ।’


